विद्यालयमै पुगेर बालबालिकालाई मोर्डना खोप लगाइने

तु खबर संवाददाता
२०७८ पुष ३, शनिबार ०९:५१
file-photo

महोत्तरी । कोरोनाको नयाँ भेरियन्ट देखापरेसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई पुस ७ देखि ११ गते सम्म खोप लगाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए ।

६–११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ । जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा भने १४–१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ ।खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।