शेखर प्यानलबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सहमहामन्त्री (पिछडिएका क्षेत्रतर्फ) बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार, जीवन शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट निर्वाचित भएका हुन् ।
सभापति शेरबहादुर देउवा समूहका शाहीलाई २७८ मतले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पाण्डेले २४११ मत प्राप्त गर्दा शाहीले २१३३ मत प्राप्त गरेका छन् । सहमहामन्त्रीमा पराजित भएका शाही कर्णाली प्रदेशका मुख्यमन्त्री समेत हुन् । यस्तै, सोही पदमा चेतराज बराल ९९ मतसहित पराजित भएका हुन् ।
यससँगै कांग्रेसको सहमहामन्त्रीमा ६ जना निर्वाचित भएका छन् । यसअघि सहमहामन्त्री (महिला) महालक्ष्मी उपाध्याय डिना, (दलिततर्फ) जीवन परियार, (आदिवासी जनजातीतर्फ्र) भिष्मराज आङदम्बे, (खसआर्यतर्फ) किशोरसिंह राठौर र (मुस्लिमतर्फ) बाराका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको भने मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजा अनुसार, सभापतिमा शेरबहादुर देउवा, उपभातिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिले आगामी पुस ५ गतेभित्रै सबै पदको मतगाणना सकेर नतिजा सार्वजनिक गर्ने जनाइएको छ ।
