कांग्रेस निर्वाचनः आज ५ सहमहामन्त्रीको मतगणना
काठमाडौं । नपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको ८ सहमहामन्त्री पदको निर्वाचनमध्ये आज ५ पदको मतगणना हुने भएको छ । तीन सहमहामन्त्री पदको भने मतपरिणाम बिहिबार राति नै सार्वजनिक भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम भइसकेको छ ।
जसमा सहमहामन्त्री (महिला) महालक्ष्मी उपाध्याय डिना, (दलिततर्फ) जीवन परियार र आदिवासी जनजातीतर्फ भिष्मराज आङदम्बे निर्वाचित भएका हुन् । बाँकी मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भने आज हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।
खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्। मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।
पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् । कांग्रेस सभापतिसहित उपसभापति र महामन्त्रीको पनि मतपरिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजा अनुसार, सभापतिमा शेरबहादुर देउवा, उपभातिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिले आगामी पुस ५ गतेभित्रै सबै पदको मतगाणना सकेर नतिजा सार्वजनिक गर्ने जनाइएको छ ।
