कांग्रेस सहमहामन्त्रीमा मकवानपुरकी डिना

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार ०७:४०
file-photo

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिना सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न मतगणनाअनुसार अर्की उम्मेदवार कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा डिना निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २ हजार १०५ मत मात्र पाइन् ।

पदाधिकारीमा महिलाको उपस्थिति कमजोर रहेको भन्दै उनले भोलिका दिनमा निर्णायक तहमा महिला सहभागिता बढाउन पहल गर्ने बताइन् । उनले अघि भनिन्, पदाधिकारीमा हामीले एक तिहाई हुनुपर्छ भन्ने माग हिजो पनि थियो, आज पनि छ ।’ महिलाहरुलाई कोटा मात्र होइन, खुलामा लड्न र जित्न सक्ने बताउन पहल गर्ने समेत बताइन् । अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा लडेकी उनले यो पटकका लागि महिलातर्फ उम्मेदवारी दिएको बताइन् । नवनिर्वाचित सहमहामन्त्री उपाध्यायले भनिन्, भोलिका दिनमा म कोटामा उम्मेदवारी दिन्नँ, खुलामा नै जान्छु ।’