मतलाई न्याय गर्छु : गगन थापा

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार १७:२०
file-photo

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् । महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले सो कुरा बताएका हुन् । उनले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए ।

उनले भने, ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु ।’ यो महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रुपमा नेतृत्व बदल्ने अवसर दिए पनि महाधिवेशनले त्यो म्याण्डेट नदिएको भन्दै यसलाई स्वीकार्नुपर्ने बताए । आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने पनि थापाले बताए ।

‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो । उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो’ उनले भने । थापाले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर जान आग्रह गरे । गत आइतबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा ३ हजार २३ मतसहित महामन्त्रीमा विजयी भएका हुन् ।