कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना सुरु

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार १६:५६
file-photo

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टीको ८ सहमहामन्त्रीमध्ये तीन सहमहामन्त्रीको मतगणना आजै साँझ गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, आज महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना गर्ने भएको हो ।

दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु मुस्लिम र मधेसीतर्फको मतगणना क्रमशः हुनेछ । अरु ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ । निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक नतिजा अनुसार, सभापतिमा शेरबहादुर देउवा, उपभातिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिले आगामी पुस ५ गतेभित्रै सबै पदको मतगाणना सकेर नतिजा सार्वजनिक गर्ने जनाइएको छ ।