कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार १५:४२

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गत आइतबार सम्पन्न कँंग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार थापाले ३ हजार २३ र शर्माले १ हजार ९८४ मत पाएर विजयी भएका हुन् । महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १ हजार ५५०, प्रदीप पौडेलले १ हजार ४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

यस्तै, पार्टीको सभापति र उपभापतिमा भने यसअघि नै मतपरिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । पार्टीको सहमहामन्त्रीमा भने मतगणना भएको छैन ।