कांग्रेस महामन्त्री मतगणना : ३१२० मत गन्दा गगन थापाको अग्रता

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार १५:०७
file-photo

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहिबारबाट सुरु भएको महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार ३ हजार ४२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २ हजार २२७ मत प्राप्त गरेका छन् ।

यस्तै, विश्वप्रकाशले १ हजार ३७६ मत पाएका छन् । महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १ हजार १२७, प्रदीप पौडेलले १ हजार ३०, डा. मिनेन्द्र रिजालले ६०३ र राजाराम कार्कीले ७७ मत पाएका निर्वाचन समितिले जनाएको छ । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन समितिका अनुसार, कांग्रेस महाधिवेशनमा करिब ४६५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ । कांग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ । कांग्रेसको सभापति र उपसभापतिको भने मत गाणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् भने उपभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।