कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाट

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार ०९:२१

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आज (बुधबार) बाट सुरु हुने भएको छ । पदाधिकारी र सदस्यहरुको मतगणना आज अपराह्नबाट सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार, आगामी पुस ५ गतेभित्र सबै मत परिणाम सार्वजनिक हुनेछ । नेपाली कांग्रेसको सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । गत मंसिर २४ गतेबाट काठमाडौंमा सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाएका थिए । ३५ मत भने बदर भएको थियो ।