कांग्रेस सभापतिमा पुनः मतदान हुने

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार ०९:२१

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको विधानअनुसार सभापति पदमा ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । मंगलबार बिहान सकिएको मतगणनामा सभापतिको लागि कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत प्राप्त नभएपछि पुनः मतदान हुने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समतिका अनुसार, दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउनेछ ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । कुल ४ हजार ६८१ मतदातामध्ये देउवाले २ हजार २५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन ।

यस्तै, दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।