आज संसद बैठक बस्दै, ५ अध्यादेश पेश हुने

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार ०८:२१
file-photo

मकवानपुर । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । सो बैटकमा ५वटा अध्यादेश पेश हुने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ५ वटा अध्यादेश पेश गर्ने उल्लेख रहेको छ ।

बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने जनाइएको छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् ।

त्यसैगरी भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ ।