कांग्रेस महाधिवेशन : २ बजेसम्म ६०० मत खस्यो

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार १४:५३
file-photo

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि सोमबार मतदान भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।

कांग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानका लागि व्यवस्था मिलाइएको छ । प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिका सदस्य रावलले बताए ।

उनका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ ।

मतदानमा सभापतिका सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् । अन्य नेता ने भोट हाल्न लामबद्ध भएका छन् ।