कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज आइतबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाहन गर्न समय तोकिएको छ । कांग्रेसको काठमाडौंमा जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
आज अपराह्न १२ : १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नुपर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेकोले मतपत्र मार्फत नै मतदान हुने भएको हो । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सभातिमा उम्मेदवारी दिनेहरुमा क्रमशः शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन् । त्यस्तै, उपसभापतिमा पनि ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा उम्मेदवारी दिनेहरुमा क्रमशः विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाह रहेका छन् ।
यसैगरी, महामन्त्रीमा डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा.मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् भने ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक/एक जना निर्वाचित हुनेछन् ।
देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर ९बारा० र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।
शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।
