कांग्रेस र माओवादी केन्द्रबीच एकता हुन जरुरी छ : प्रचण्ड

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १७:०४
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न नेपाली कांग्रेस र माओवादी बेन्द्रबीच गहिरो एकता हुन जरुरी रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन नभई परिर्वतनलाई संस्थागत गर्न कांग्रेस र माओवादीबीच एकता हुनुपर्ने बताएका हुन् ।

प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरे । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’ राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने हुन्छ । साथै उनले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताए । उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए ।