‘राष्ट्र प्रमुख राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गरौँ’

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १६:१७
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था र जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् ।

‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको बताए ।

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको पनि उनको भनाई छ । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको बताए ।