कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १०:०५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । महाधिवेशनको आज पहिलो दिन भृकुटीमण्डलमा दिउँसो १ बजे उद्घाटन हुनेछ । उद्घाटको लागि सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिए ।

उनका अनुसार, उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहनेछ ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । पार्टीका यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि महाधिवेशनसम्बन्धी आवश्यक विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यस्तै, महाधिवेशनको दोस्रो दिन  मंसिर २५ गतेबिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता, ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ, ७ बजेदेखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय गर्ने र ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, मंसिर २६ गते बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिन, १२ः १५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न समय तोकिएको र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।