आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ मंसिर २३, बिहीबार ०९:१८
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएको छ ।

बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले बताए ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुनेछ । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । उद्घाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।