कैलालीमा फरार २ अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७८ मंसिर २२, बुधबार १५:३०
सांकेतिक तस्बिर

कैलाली । कैलालीमा ज्यान मार्ने र सवारी ज्यान मुद्दाका फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली साविकको दोधारा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दिपेन्द्र २०६४ चैत ८ गते एक व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । त्यस्तै, मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।