घट्दो शेयर बजार र नागरिक सचेत हुनुपर्ने विषय

दामु चौलागाईं
२०७८ मंसिर २१,मंगलवार १०:१०

जुन कुरा नहोस् र नागरिकको लगानी नडुबोस् भन्ने लागेको थियो त्यही बाटोमा नेपालको शेयर बजार जाँदा यसमा आकर्षित धेरै सर्वसाधारणको लगानी जोखिममा परेको छ । यसमा नेपाल सरकारका निकायहरुको दोष देखिन्छ । कुनै पनि कम्पनीमा लगानी गर्दा त्यसको सर्वपक्षीय स्थिति अध्ययन गरिनु आवश्यक हुन्छ । नेपालमा हल्लाको भरमा लगानी गर्ने परिपाटी छ । यसका कारण पछि लगानी डुब्ने स्थिति बनेपछि पछुताउनु पर्ने अवस्था बनेको छ । नियामक निकाय धितोपत्र बोर्ड तथा अन्य सरोकारवाला निकायहरुले नागरिकलाई शेयर बजार र यसको लगानीका बारेमा विस्तृत जानकारी गराइदिनु पर्दछ ।

राजनीतिक अस्थिरताले गर्दा प्रायः उद्योग धन्दा चलेका छैनन् । उद्योग कलकारखाना नचल्दा औधोगिक क्षेत्र तहसनहस भएर आर्थिक संकट उत्पन्न भएको छ । सोही कारण आफूले लगानी गर्ने कम्पनी र त्यसको वित्तीय अवस्थाका बारेमा जानेर मात्र लगानी गर्नु उपयुक्त हुने देखिन्छ । लगानीकर्तालाई सुरक्षीत बनाउन शेयरमूल्य बढ्ने अवस्थाबारे जनहीतकारी सूचना नियामक निकायले जारी गर्नु पर्दछ । तत्काल संयमता नअपनाए नेपालको शेयर बजार अप्रिय र कसैले नसोचेको दिशातर्फ अघि बढ्न सक्छ । जसको प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने र अर्थ व्यवस्था नै धरासायी हुने संभावना रहन्छ ।

गत भदौंमा ३२०० को बिन्दुमा पुगेको नेप्से आज २५०० बाट तल भरेको छ । करिब तीन महिनाको अवधिमा २१ प्रतिशतले मार्केटमा गिरावट आएको छ । यो गिरावट कति तलसम्म पुग्छ र कहिले माथितिर उकालो लाग्छ अहिले नै भन्न सक्ने अवस्था छैन । यतिबेला बैंकमा तरलता अभाव बढेको छ लगानीकर्ताहरुले भटाभट शेयर बिक्रीमा राखेका छन् , तर खरिदकर्ता नहुँदा लगानीकर्ताहरुले शेयर बिक्री गर्न नसक्ने अवस्था आएको छ । बिगतमा दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार हुने शेयर पछिल्ला दिनहरुमा उच्च अंकले घटेर तीन चार अर्बमा सीमित हुँदै आएको छ । लगानीकर्ताहरुले बैंकबाट ऋण लिएर कारोबार गर्दै आएकोमा पछिल्ला दिनहरुमा बैंक आफै टाट उल्टिने अवस्था आउनु र प्रायः नेपाली कम्पनी धरासायी भएकोले पनि त्यसको असर शेयर बजारमा परेको देखिएको छ ।

शेयर कारोबारमा सबैभन्दा भरपर्दो र निश्चित समयमा प्रतिफल पाउने मेचुयल फन्डमा लगानीकर्ता आकर्षण गर्न नसक्दा नेपालको शेयरबजारमा धेरैले यो कारोबारको बारेमा नबुझी हचुवाको भरमा कारोबार गर्दा यस्तो अवस्था आएको तथ्य पनि मान्नुपर्छ । अब लगानीकर्ताहरुले राम्रोसँग नबुझी शेयर बजारमा सक्रिय हुन छोड्नु पर्छ । कारोबार गर्दा शेयर मूल्य घटबढ हुनु स्वाभाविक प्रक्रिया भएपनि शेयर बजारबाट धेरै लगानीकर्ताले यो क्षेत्रबाट हात झिक्नु जरुरी छ साथै यस क्षेत्रको सुधारका लागि लगानी उचित प्रबन्ध मिलाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनु जरुरी छ ।

अहिले बैंकिङ क्षेत्रमा आएको तरलताबाट कति बैंक जोखिममा पर्छन् त्यो यसै भन्न सकिने अवस्था छैन । समस्या हुने वित्तिकै पुँजि बजारमा पुनः सुधार आउने सम्भावनालाई बराबरी अंक दिनुपर्ने हुन्छ ।अहिले लगानीकर्ताहरुले संयमता अपनाउनुको विकल्प छैन तर शेयर बजार ओरालो लाग्दा शेयर बिक्री गरेर नगदमा रुपान्तरण गर्ने र घटेको बेलामा किन्ने शेयर बजारको नियम भएपनि राज्यले यसमा फोहोरी खेल खेलेर धेरै नागरिकको आर्थिक हैसियत तहसनहस बनाउने र सिंगो पुँजि बजार ध्वस्त हुनेगरि भएको अदृश्य चलखेलको बारेमा गहिरो अनुसन्धान भने गर्नै पर्छ ।