राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठक बोलाए
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै अध्यक्ष लिङ्देनले बुधबार केन्द्रीय समितिको बैठक बोलाएका हुन् । उनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।
लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सल्लाह गरेरै आफू अघि बढ्ने बताए । लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए । ‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन । मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुनसक्छ । त्यसमा भन्नु केही छैन । तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो । यो दुर्भाग्यपूर्ण छ ।’
