नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित
मकवानपुर । नेपालमा पनि कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा पनि ओमिक्रोन संक्रमित भेटिएको जानकारी गराइएको हो ।
मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार, एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए ।
नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । तर, कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
