राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले लिए सपथ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आज सपथ ग्रहण गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले शपथ गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले शपथ खुवाएका थिए ।
शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित थिए। कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
काठमाडौंको भृकटीमण्डपमा आइतबार बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।
