कमल थापाको आरोप : पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको हस्तक्षेप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक चुनावमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले सामाजिक संजालमार्फत उक्त आरोप लगाएका हुन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

उनले आफूलाई राजनीतिक रुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’
