राप्रपा महाधिवेशन : उपाध्यक्षमा पाण्डे, तामाङ र प्रधान विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खुल्लातर्फको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र धनहादुर प्रधान विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा पाण्डे २ हजार ५२१ मतका साथ विजयी भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।
यस्तै, सोही पदमा तामाङ १ हजार ८४४ र प्रधान १ हजार ८१४ मतका साथ विजयी भएका हुन् । ३ जना उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा दिलविकासराज भण्डारी, रामचन्द्र राय यादव र जगतप्रसाद गौचन भने पराजित भएका छन् । उनीहरुले क्रमशः १ हजार १९४, ९६७ र ८९० मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्ष महिलातर्फ रोशनी कार्की विजयी भएका छन् । उनी १ हजार ५८९ मतका सात विजयी भएका हुन् । उपाध्यक्ष महिलातर्फको एक पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा लिलादेवी श्रेष्ठ, १ हजार ५४ र दुर्गा श्रेष्ठ ८०५ मतसहित पराजित भएका छन् । यसैगरी, महान्मन्त्री खुल्लातर्फ डा.धवल शम्शेर राणा र भुवनकुमार पाठक विजयी भएका छन् । राणा २ हजार २२१ र पाठक १ हजार ७०५ मतसहित विजयी भएका हुन् । सो पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।
त्यस्तै, महामन्त्री महिलातर्फ कुन्ती शाही विजयी भएका छन् । उनी २ हजार ८ मतका साथ विजयी भएकी हुन् । एक पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । जसमा नायिका रेखा थापा १ हजार ६४० मतका साथ पराजित भएका छन् । राप्रपा अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई पारजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । लिङदेनले १ हजार ८४४ मत प्राप्त गर्दा थापाले १ हजार ६१७ मत प्राप्त गरेका थिए ।
