१४७२ मत गनियो : बानियाँको ७२६, केसीको ५९१ र प्रधानको १४५ मत
हेटौंडा । वन विज्ञान अध्ययन संस्थान परिसरमा नेपाली कांग्रेस बागमती प्रदेशको मत गणना अहिले पनि जारी छ । भर्खरै त्यहाँ १४ सय ७२ मत गणना भएको छ । त्यस मध्ये सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ७२६ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ५९१ मत पाएका छन् भने भीमसेनदास प्रधानले १४५ मत प्राप्त गरेका छन् । यो संगै बानियाँ सबैभन्दाबढी मतसहित अग्र स्थानमा रहेका छन् । १० मत बदर घोषित भएको छ ।
परिणाम अनुसार, अहिले बानियाँले प्राप्त गरेको मत ३४.८५ प्रतिशत हो भने अब ६११ मत गन्न बाँकी रहेको छ । हिजो शनिबार भएको मतदानमा प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । २१ सय ५१ प्रतिनिधि मध्ये २ हजार ८३ मत खसेको थियो । बिहानबाटै मतदान हुने भनिए पनि प्राविधिक कारणले गर्दा मतदान साँझ मात्र सुरु भएको थियो । मतदान सकिएपछि सभापतिको मत गणनाको काम सुरु भएको हो ।
