पछिल्लो २४ घण्टामा थपिए २३८ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार १६:५८

काठमाडौं । देशभर थप २३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३९२ जना संक्रमणमुक्र भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।