कांग्रेसको बागमती प्रदेश अधिवेशन: मतदान सुरु

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार १६:०८

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भर्खरै मतदान सुरु भएको हो ।  कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १/१ वटा गरी कूल १० वटा मतदान केन्द्र बनाइएको छ ।

मतपत्र छपाइको काम तोकिएको समयभन्दा ढिलो भएपछि मतदान ४ बजे मात्रै सुरु भएको हो । मतदानस्तल वरपर टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री हटाइएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानका लागि मतदाता लामबद्ध भएका छन् ।

अधिवेशनमा १ हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २ हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् । फरेष्टीको मुल गेटमा कांग्रेसका नेता तथा कार्यकर्ताले आ–आफ्नो प्यानलका उम्मेदवारको लागि मत मागिरहेका छन् । मतदानको समय राति १० बजेसम्म तोकिएको छ ।

अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नुवाकोटका पूर्व सभापति जगदिश्वर नरसिं केसी र भीमसेन दास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । बानियाँले संस्थापन पक्षबाट समर्थन रहेको छ भने रामचन्द्र पौडेल पक्षको केसीलाई र कृष्ण सिटौलाको साथ प्रधानलाई रहेको छ ।