एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार ०८:५९
filr-photo

बागलुङ । बागलुङमा एक विद्यालयका ३० जनामा कोरोना भाएरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता देवप्रकाश घिमिरेले जानकारी दिए ।

उनका अनुसार, एक सय जनामा गरिएको एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । उनले उक्त ठाउँमा अन्य स्थानीयलाई पनि संक्रमण लक्षण देखिएकाले पीसीआर संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । कोभिड पुष्टि हुनेमा अधिकांश १७ वर्ष मुनी उमेर समूहका रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।