राप्रपा महाधिवेशन : प्रतिनिधि मनोनितमा मकवानपुरका चार
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले मनोनित गरेको प्रतिनिधिमा मकवानपुरका चार जना रहेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुरुप अध्यक्षत्रयले मनोनित गरेको २३५ जनामध्ये मकवानपुरका चार जना रहेका छन् ।
जसमा मकवानपुरका शुक्र प्रजा, अर्जुन ढुङ्गना, गणेश थापा र मधु अधिकारी रहेका छन् । राप्रपा अध्यक्षत्रय क्रमशः कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले महाधिवेशन प्रतिनिधि मनोनयन गरेका हुन् । यसअघि बिहीबार समितिले ४ हजार ४ सय ७१ जना प्रतिनिधिको सूची सार्वजनिक गरिसकेको छ । त्यसमा अब २३५ जना थपिने भएका छन् ।
राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ । एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बुधबारदेखि महाधिवेशन जारी छ । त्यसअन्तर्गत आज (शुक्रबार) उम्मेदवारी दर्ता गरिँदै छ । चुनाव भने भोलि शनिबार गर्ने राप्रपाको तयारी छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्प्रर्धा हुनेछ । उनीहरु दुबै जना मनोनयन दर्ताको लागि नेता तथा कार्यकर्ता र बाजासहित राष्ट्रिय सभागृहमा पुगेका छन् । यसअघि राप्रपाको महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न गर्ने कार्यतालिका थियो ।
