काँग्रेसको प्रदेश अधिवेशन : सभापतिमा बानियाँको प्यानल घोषणा

तु खबर संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ११:४९

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि ईन्द्रबहादुर बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता बानियाँले आफू र आफ्नो प्यानल घोषणा गरेका हुन् ।

उनको प्यानलमा उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं) , महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार हुनेछन् । यस समेत ८३ जना सदस्य निर्वाचनमा भाग लिनेछन् । उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति पदका उम्मेदवार बानियाँले बागमती प्रदेशमा काँग्रेसलाई जनताकोबीचमा स्थापित गर्न आफू र आफ्नो टिमले उम्मेदवारी दिएको बताए ।  उनले काँग्रेसले राजनीतिक परिवर्तनको यात्रा धेरैसँग गरेको र नेता कर्यकर्ताको त्याग रहेको स्मरण गर्दै अबका दिनमा जनताको आर्थिक तथा समाजिक जीवन परिवर्तन गर्न आवश्यक रहेको बताए । बानियाँले बागमती प्रदेशलाई समृद्ध प्रदेश बनाउन काँग्रेस लागिपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाश शरण महत, महालक्ष्मी डिना उपाध्यायलगायतका नेताहरु उपस्थित थिए । सभामा काँग्रेस सहमहामन्त्री प्रकाश शरण महतले बानियाँको प्यानलले जित्ने दावी गरेका छन् । उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता महतले बागमतीमा सुदृढ काँग्रेस निर्माणको लागि नेता बानियाँले योजना बनाएको र सोही योजनाको कार्यान्वयन गर्न उनी निर्वाचित हुने महतको भनाई छ ।