राप्रपा महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा नायिका रेखा थापाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपाको नयाँ नेतृत्व चयनको प्रक्रिया आज (बिहीबार) देखि सुरु भएको छ । राप्रपाको बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु भएको हो ।
राप्रपा अध्यक्ष पदको लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् । देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए ।
