कांग्रेस बागमती प्रदेश : प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने

तु खबर संवाददाता
२०७८ मंसिर १६, बिहीबार ०८:२२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा हुने प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

उक्त अधिवेशनको लागि आवश्यक तयारी पूरा भइसकेको प्रवक्ता कोइरालाको भनाई छ । अन्य जिल्लाबाट आउने प्रदेश प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, पदाधिकारीहरु, केन्द्रीय नेतागण सबैलाई खाना तथा आवासको प्रबन्ध मिलाइएको उनले बताए । सबै जिल्लाबाट आउने पाहुनाहरुको स्वागत तथा व्यवस्थापनका लागि संयोजक तोकिएको र संयोजकले ती काम पुरा गर्ने उनको भनाई छ । उनका अनुसार, उद्घाटन सभारोहका लागि हेटौंडाको बुद्धचोकबाट करिब १० हजार नेता कार्यकर्ताको र्याली निकालेर फरेष्टीमा पुगेर कोणसभामा परिणत हुनेछ ।

कार्यक्रमको लागि सुरक्षाको प्रबन्ध मिलाइएको र कांग्रेसको तर्फबाट पनि स्वयम् सेवक खटाइने उनले बताए ।बागमती प्रदेश अधिवेशनमा १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो । प्रदेश सभापति पदको लागि कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दिने भएका छन् ।