दोलखामा एकै परिवारका तीन जनाको शव फेला

तु खबर संवाददाता
२०७८ मंसिर १५, बुधबार १४:५२
सांकेतिक तस्वीर

दोलखा । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्तीको शव फेला परेको छ । बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । दोलखा प्रहरी प्रमुख भेषराज रिजालका अनुसार, स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोराको शव फेला परेको हो ।

उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन । मृतकहरुको पोष्टमार्टम रिपोर्ट नआएसम्म उक्त घटनाको विषयमा केही खुल्न नसक्ने र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।