मकवानपुरमा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार ०७:५६
file-photo

मकवानपुर । मकवानपुरमा दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राजनीति दलहरु, सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया गर्दै जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्न जानकारी गराएका हुन् ।

१८ वर्ष पुरा भएको मतदातामा नामवलीमा नाम नभएकाहरुको संकलन कार्य संचालन गर्न लागिएको कार्यलयले जनाएको छ । निर्वाचन कार्यालयले यहि मंसिर १७ गतेदेखि पुष २ गतेसम्म पहिलो चरण र पुष ५ गतेदेखि माघ ५ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।

जसअनुसार, पहिलो चरणमा मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने भएको हो । यस्तै, दोस्रो चरणमा जिल्लाको बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने भएको हो । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आएर नामावली दर्ता गर्न सकिने कार्यलयले जनाएको छ ।

कार्यलयका अनुसार, जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७०३ जना पुरुष, १ लाख ३७ हजार ४७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् । अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको थियो ।