सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ: मन्त्री झाँक्री

रासस
२०७८ मंसिर १३,सोमबार १५:२२
file-photo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताइन् ।

उनले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताइन् । उनले सरकारले कार्यक्रमका रुपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिइन् । मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । अनुसन्धानको नतिजालाई जीवनसँग जोड्ने कुरा महत्वपूर्ण भएको उनले बताइन् । उनले भनिन्, “विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ ।”

कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन् । यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुङ्गा, माटोले बनाइएका हुन्छन् । स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ ।

अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ । भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो ।