कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ

रासस
२०७८ मंसिर १३, सोमबार १२:०८

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १ हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनकाका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १ हजार ८९ मत प्राप्त गरे ।

यस्तै, उपसभापतिमा राजकुमार नकर्मी १ हजार ८ सय २९ र गोकर्ण केसी १ हजार ९ सय २२, सचिवमा इन्द्रबहादुर थापा १ हजार ९ सय १५ र गोविन्द पुडासैनी १ हजार ८ सय १७ र सहसचिवमा रोमेल श्रेष्ठ १ हजार ७ सय ७५ र प्रा डा अमिता प्रधान २ हजार ६६ मत ल्याई निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ हेटौंडामा तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।