‘विज्ञान प्रविधिसँग सम्बन्धित खोज अनुसन्धानमा नास्टले सक्रियता बढाएको छ’

तु खबर संवाददाता
२०७८ मंसिर १२,आईतवार १४:२४

नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा सर्वोच्च निकायको रुपमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले वातावरणीय प्रभाव मूल्याङ्कन, विभिन्न खोज अनुसन्धान, नवप्रर्वद्धन, वैज्ञानिकलाई प्रोत्साहनलगायतका कार्यमा सक्रियता देखाउँदै आएको छ । विभिन्न १६ वटा पुरस्कारको स्थापना गरी हरेक बर्ष वैज्ञानिकहरुको हौसला बढाउन वितरण गर्ने, विज्ञान प्रविधिसंग जानकार नागरिकहरुसंग समन्वय गरी खोज अनुसन्धानमा लाग्न प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ ।

कोरोना संक्रमणको जोखिमका बेला प्रतिष्ठानले कोरोना तथा ज्वरो मापनका लागि उपकरण बनाउनसमेत सफल भएको थियो । प्रतिष्ठानका सचिव प्राध्यापक डा. महेश कुमार अधिकारी बरिष्ठ च्याउ वैज्ञानिकका रुपमासमेत परिचित छन् । खाने च्याउको पहिचान नहुँदा बर्षेनी नेपालमा ३० देखि ४० जनाको मृत्यु भइरहेको छ । मकवानपुरको ग्रामिण भेगमा पनि बिशालु च्याउको खाँदा यहाँका नागरिकहरुले ज्यान गुमाउनुपरेको
छ । तु खबरले प्रा. डा. अधिकारीसंग नास्टका गतिविधि र च्याउसँग सम्बन्धित केही कुराकानी गरेको छ । प्रस्तुत छ, प्रा.डा अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रश्न : आम जनतामा ‘नास्ट’ र यसका काम, कर्तव्य तथा अधिकारका विषयमा एथेष्ठ जानकारी छैन । यहाँले प्रष्ट पारिदिनुस् न ।

उत्तर : धन्यवाद । पहिला ‘नास्ट’लाई ‘रोनास्ट’ भनिन्थ्यो । पछि यसको नाम ‘नास्ट’ भनेर नामाकरण गरिएको हो । नास्ट भनेको विज्ञान प्रविधिको क्षेत्रमा सर्वोच्च निकाय हो । नेपालका जतिपति विज्ञान प्रविधिसँग सम्बन्धित क्रियाकलाप छन्, ती सबै नास्ट अन्तरगत नै पर्दछन् । नास्टसँग नै सम्बन्धित छ । विज्ञान प्रविधिबारे सूचना दिने, यसको समष्टिगत रुपमा अध्ययन गर्ने, धेरै कुराहरु अंगालेर नवप्रर्वद्धन लगायतका कार्यहरु गर्दै आएको छ ।

त्यसैगरी नास्टमा विज्ञान प्रविधिको क्षेत्रमा स्तरउन्नती गर्नको लागि, वैज्ञानिकलाई प्रवद्र्धन गर्नको लागि, वैज्ञानिकलाई उत्साह जगाउनको लागि उनीहरुले गरेको खोज, अनुसन्धान र अन्वेषणलाई प्रोत्साहन गर्नको लागि यसले विभिन्न किसिमका १६ वटा पुरस्कारको स्थापना गरी हरेक बर्ष प्रदान गर्दै आएको पनि छ । नास्टमा धेरै अन्वेषण र अनुसन्धानका कार्यहरु अहिले संचालित छन् । हामीले विदेशमा बसेर ज्ञान आर्जन गरेका विद्यार्थीहरुलाई नेपालमा अवसर दिने काम पनि गरिरहेका छौँ ।

विज्ञान प्रविधि सम्बन्धी ज्ञान भएका नागरिकहरुसंग समन्वय गरेर उनीहरुलाई नवप्रवद्र्धनको र विज्ञानको क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौँ । २ बर्ष अघि नास्टले स्याटलाइट पनि उडाएको थियो । जसले विज्ञान प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्यो । नास्टले विज्ञान प्रविधिसंग सम्बन्धित अन्वेषकहरुलाई अनुदान पनि दिने गरेको छ । अनुदान पाएका व्यक्तिहरुले रोबर्टको निर्माण गर्न सफल भए । त्यस्तै आधुनिक कृषि उपकरण पनि बनाए । नास्टले कोरोना संक्रमणको जोखिमका समयमा नागरिकले मास्क लगाए नलगाएको थाहा पाउने उसको तापक्रम नाप्ने उपकरणसमेत बनाउन सफल भयो ।

प्रश्न : नास्टको क्षेत्राधिकारभित्र के–के पर्दछ ? जिल्लास्तरसम्म यसको संरचना कस्तो छ ?

उत्तर : विज्ञान प्रविधिसंग सम्बन्धित जतिपनि काम हुन्छ, त्यो सबै नास्टकै क्षेत्राधिकार भित्र पर्दछ । अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत भएता पनि यसले विज्ञान प्रविधिसंग सम्बन्धित सबै क्षेत्रहरुलाई अंगालेर लगेको छ । विज्ञान प्रविधिको क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भन्ने कुरा यसकै कर्तव्यभित्र पर्दछ । नास्टले हरेक जिल्लामा नवप्रवद्र्धनका कुराहरु विस्तार गर्ने काम गरिरहेको छ ।

अनुदान तथा शहरी विकासका कामहरु कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेर एउटा अवधारणा सृजना गरी अगाडि बढिरहेको छ । हाम्रो जिल्लास्तरसम्म संरचना छैन । तर कामहरु हामीले जिल्लास्तरसम्म लक्षित गरेर गरिरहेका छौँ ।

प्रश्न : नास्टले विज्ञान प्रविधिको क्षेत्रमा पर्याप्त कामहरु गर्न सकेको छैन भन्ने पनि सुनिन्छ । भएका कामहरु पनि प्रचार नगरिएको हो ?

उत्तर : नास्टमा धेरै वैज्ञानिक छैनन् । क्रमिक रुपमा बढाउने अवस्था छ । सबै क्षेत्रका वैज्ञानिक एथेष्ठ भए भनेमात्र यसले सबै क्षेत्रलाई अंगालेर अगाडि बढ्न सक्छ । हो, हामीले गरेका कामहरु अलिकति प्रचारप्रसारको कमि पनि भएको हो । मैले भनिहाँले, हामीसँग जनशक्ति कम छ, त्यसकारण हाम्रा प्रचारप्रसार भएनन् होला । जनमानससम्म पुर्याउन सकिएन होला । तर, विस्तारै हुँदै छ । हामीले हालसालै हेटौंडामा ३ दिने विज्ञान लेखन तालिम आयोजना गर्यौँ ।

मकवानपुरका २२ जना पत्रकारहरुलाई नास्टका गतिविधिबारे जानकारी होस् भन्ने उदेश्यले । विज्ञानसंग सम्बन्धित समाचार लेख्न सहज होस् भनेर हामीले यो तालिम आयोजना गरेका थियौँ । जनमानससम्म सूचना प्रवाह गर्ने मिडियाले नै हो, त्यसकारण यसमा यहाँहरुको पनि भूमिका महत्वपूर्ण रहन्छ भन्ने लाग्छ । नास्टले काम नगरेको भन्ने चाँही होइल ।

प्रश्न : नास्टले अहिले कुन विषयको अध्ययन गर्दैछ ? केही नयाँ आविस्कार हुँदैछ कि ?

उत्तर :  नास्टले सबै क्षेत्रलाई समष्टिगत रुपमा अध्ययन अनुसन्धान गरिरहेको हुन्छ । विभिन्न ग्रामिण क्षेत्रका जनताको आर्थिक उन्नती हुने उनीहरुका दैनिक जीवनयापनमा सहजिकरण गर्नको लागि विभिन्न खोज अनुसन्धानका कार्यक्रम लिएर अहिले नास्ट अघि बढिरहेको छ । हामीले धेरै कृषि उपकरणहरुको पनि निर्माण गरेका छौँ । शहरी क्षेत्रमा प्रयोग हुने उपकरणहरु पनि बनाउन सफल भएका छौँ । हाम्रा वैज्ञानिकहरुले रोबर्टसमेत बनाइसकेका छन् । अब हेर्नुस्, खोज अनुसन्धान सँधै चलिरहने कुरा हो । हाम्रा वैज्ञानिकहरु खोज अनुसन्धानमै छन् ।

प्रश्न :  तपाईं च्याउ सम्बन्धी विज्ञ पनि हुनुहुन्छ ।, मैले मकवानपुरको प्रसंगलाई पनि जोड्न खोजेँ । मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिकालगायत ग्रामिण भेगका जनताहरु बिशालु च्याउ खाएर अकालमा ज्यान गुमाइरहेका छन् । कस्तो च्याउ खाने, कस्तो नखाने, कसरी पहिचान गर्ने ?

उत्तर : मकवानपुर च्याउको लागि धनी क्षेत्र हो । यहाँका जनताले जंगलमा पाइने जतिपनि च्याउहरु छन्, त्यसलाई टिपेर खाने गरेका छन् । तर, त्यसो गर्नु गलत हो । च्याउ खानुभन्दा अघि यो च्याउ खानयोग्य हो कि होइन भन्ने चिनेर जानेर मात्रै खानुपर्ने हुन्छ । नत्र अकालमा ज्यानसमेत जान सक्छ । हेर्दा उस्तै हुन्छन्, चिन्न पनि गाह्रो हुन्छ । यदि वंशाणुगत संकलनकर्ता छन्, अनुभवी छन् उनीहरुले विगतदेखि नै खाइरहेको च्याउ टिपेका छन् भने त्यस्ता च्याउ मात्रै खानुपर्छ । खाने च्याउ हो भन्ने पक्का नभएसम्म च्याउ नखानु नै बेस हुन्छ । अब च्याउ कसरी टिप्यो, कहिले टिप्यो, के मा हालेर घरसम्म ल्याइयो भन्ने कुराले पनि माधव स्वास्थ्यलाई कति असर गर्छ भन्ने कुरा निर्धारण गर्छ ।

यदि कसैले टिपेर ल्याएको च्याउ हामीले लिँदै छौँ भने तिमिले खाएका छौँ भनेर सोध्नुपर्यो । छ भन्यो भने खाएर देखाउ भन्नुपर्यो । अनि मात्रै खानुपर्यो, हैन भने त्यो खानुभएन । संभव भएसम्म विज्ञलाई देखाउनुपर्यो । यो खान हुन्छ कि हुँदैन भनेर । मकवानपुरमा खाने गरिएको च्याउ सेतो च्याउ हो जसलाई आमेनिटा भनिन्छ । जम्मा ५ प्रजातिका च्याउहरु खान मिल्छ त्यसमा यो पनि पर्दछ । जंगलमा खान मिल्ने र खाने च्याउ जस्तै देखिने अन्य बिशालु च्याउहरु पनि हुन्छन् जसको सेवनले मानिसको मृत्युसमेत हुन सक्दछ ।

च्याउ खाएपछि रिंगटा लाग्ने, जिब्रो सुनिने, र्याल आउँने, आशु आउने, नाकबाट सिगान बग्ने, दिशा धेरै पटक लाग्ने, बान्ता आउने, घाँटीमा डल्लाहरु देखिने, पानी निल्न गाह्रो हुने, पेट निकै दुख्ने, ज्यान थकित हुने जस्ता लक्षण देखापर्यो भने सम्झनुस् तपाईले खान नहुँने च्याउ खानुभयो । यस्तो अवस्था धैर्य गरेर प्राथमिक उपचार गरिहाल्नुपर्छ । बिशालु च्याउ खाएर माथि मैले भनेजस्तो लक्षण देखिएमा मनतातो पानी टन्न खुवाउने र वान्ता गराउनुपर्छ ।

जब वान्तामार्फत् पेटका सबै च्याउ निस्कन्छ, त्यसपछि फेरी मनतातो पानीमा कागती हालेर खुवाउनुपर्छ र त्यसलाई पनि बान्ता गराउनुपर्छ । र मनतातो पानीमा ‘मेडिकेटेड चारकोल’ भन्ने घरको आगो बालेको कोइला जस्तै हुन्छ । त्यसलाई मनतातो पानीमा धुलो बनाए टन्न खुवाउने गर्नुपर्छ । त्यसो गर्दा त्यसले च्याउको विषहरुलाई दिशाबाट निकालिदिन्छ र मानिसलाई च्याउले कुनै हानी गर्न सक्दैन । यदि उसलाई धेरै नै गाह्रो बनाएको छ भने प्राथमिक उपचार पछि पनि तुरुन्तै अस्पताल लैजाने र चिकित्सकको सल्लाह अनुसार औषधी उपचार गराउनुपर्छ ।  चाँदीको सिक्का, चम्चा वा भाँडामा राख्दा पनि चाँदी कालो भएमा नखाने, पकाउँदा प्रयोग भएको लसुन प्याज कालो भएमा पनि त्यो नखाने, चम्किला (सेतो, रातो र पहेँलो च्याउ) नखाने, हरियो कत्ला भएको छाता, सेतो औँठी, डाँठबाट छुट्टिएको र सेतो बीउ हुने च्याउ तथा चिप्लो छाता भएको च्याउ खानुहुँदैन ।

प्रश्न : च्याउ कति खाने ? कति–कति दिनको फरकमा खाने यसबारे पनि भनिदिनुस् न ?

उत्तर : मैले अघि पनि भनेँ । सर्वप्रथम त च्याउ नचिनि खाँदै नखाने । च्याउ सम्बन्धी विज्ञसँग सोधेर वा वंशाणुगत च्याउ संकलनकर्ता तथा अनुभवीहरुले संकलन गरेको च्याउमात्र खाने । खाने च्याउ पनि दिनकै खानु स्वास्थ्यको लागि राम्रो मानिँदैन । एक जनाले एकपटकमा २ सय ग्राम भन्दाबढी च्याउ एकै पटकमा खानु राम्रो हुँदैन । एक पटक च्याउ खाएपछि २ देखि ४ दिन पछि मात्रै खाएको राम्रो हुन्छ ।

अझ सकेसम्म त एक हप्ता पछि मात्रै खाएको राम्रो हुन्छ । किनकी च्याउमा धेरै रसायनिक तत्वहरु भिटामिन प्रोटिन हुन्छ । शरिरलाई चाहिने तत्व शरिरले लिइसकेको हुन्छ । त्यो भन्दा बढी दिशा र पिसाबबाट जान्छ । बढी खाएर काम लाग्दैन । त्यसकारण मात्रा तौलेर खाने बानी उत्तम हुन्छ ।

२०३० साल देखि च्याउको अध्ययन सुरु गरेका प्रा.डा अधिकारीले च्याउबारे धेरै अध्ययन गरेका छन् । उनले च्याउबाट यस्तो औषधीको पहिचान गरेका छन्, जसले गर्भवती महिलालाई एक एम्पुल दिएपछि उनीहरुले सहजरुपमा बच्चा जन्माउन सक्छन् । उनले च्याउ अध्ययन र अनुसन्धानको क्रममा १२ सय वटा प्रजातीका च्याउहरुको पहिचान गरेका छन् । तीमध्ये ३ सय ५० भन्दा बढी नेपालका लागि नयाँ च्याउहरु रहेका छन् । उनी हाल नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को सचिवको रुपमा कार्यरत छन् ।