चितवनका दुई जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ मंसिर १२,आईतवार ०८:२६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातामाटे चेकप्वाइन्टबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका वडा नम्वर ७ बिरेन्द्रनगर बस्ने ४२ वर्षीय तेजबहादुर गुरुङ र सोही नगरपालिका वडा नम्वर ४ खुरखुरे बस्ने २९ वर्षीय अनमोल लामा रहेका छन् ।

उनीहरुलाई शनिबार विशेष सूचनाको आधारमा हेटौंडा–१५ चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार,सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प १९०२ नम्बरको मोटरसाइकलाई रोकी चेकजाँच गर्ने क्रममा चालक गुरुङ र सवार लामाले लुकाई छिपाई ल्याएको सो परिणामको पदार्थ बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेका उनीमाथि माथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।