मकवानपुरका २७१५ जना अभियुक्त फरार

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार १७:००

मकवानपुर । मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई कैद सजाय र दण्ड जरिवाना तोकिएका झण्डै ३ हजार जना अभियुक्त फरार रहेका छन् । जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय र जरिवाना तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेको अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार, फरार सूचीमा रहेकामध्ये ६३ जना विदेशी (भारतीय) नागरिक र २ हजार ६ सय ५३ जना नेपाली नागरिक हुन् । फरार अभियुक्तमध्ये बढीजसो लागूऔषध मुद्दाका रहेका छन् । दोषी ठहर गरे पनि फरार व्यक्तिको सूची अदालतले जिल्ला प्रहरी, प्रशासन र पालिकामा पठाएको छ ।

अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई सरकारी निकायबाट पाउने सेवासुविधा रोका गर्न अदालतले परिपत्र गरेको हो । गत वर्ष राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका ४ जनाको सेवासुविधा रोकेको थियो । जिल्ला प्रहरीले गत आर्थिक वर्ष ०७७÷७८ मा अदालतले दोषी ठहर गरेका तर फरार १ सय ५६ जनालाई पक्राउ गरेको थियो ।