मकवानपुरको सबै क्षेत्रमा कांग्रेसलाई जिताएको दिन मात्रै माला लगाउँछु – इन्द्रबहादुर बानियाँ

सकियो क्षेत्रीय निर्वाचनः १ मा खनाल, २ मा मुक्तान
तु खबर संवाददाता
२०७८ मंसिर ७,मंगलवार १८:३८
तस्बिर - अन्जन दाहाल

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा क्षेत्र नम्वर १ र २ को अधिवेशन सफल बनाउन सहयोग पुर्याउने कांग्रेसका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, निर्वाचन समिति, सुरक्षा निकायका अधिकारीहरु, पत्रकारलगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

उनले सबै क्षेत्रमा सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन गरिएको बताए । ‘सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको हो । कतै सहमति भयो, कतै निर्वाचन गर्नुपर्यो । कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो । लोकतन्त्रमा बहुमतको जित हुन्छ । अल्पमतको सम्मान हुन्छ ।’ उनले भने । ‘ कुन प्यानलले जित्यो, कता पट्टिकोले जित्यो भनेर अब तनाब लिएर बनसौँ । यहाँ जसले जिते पनि कांग्रेसले जितेको हो । अन्य कुनै दलले आएर जितेको होइन । निर्वाचित हुन नसक्नेले अझै मिहेनत गरौँ । जनताको विश्वास जित्ने काम अझै बढी गरौँ । एकदिन सफल भइन्छ ।’ उनले थपे।

उनले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरको २ वटै प्रतिनिधिसभा र ४ वटै प्रदेशसभामा कांग्रेसको उम्मेदवार जिताएको दिन आफ्नो चाहाना पुरा हुने पनि बताए । ‘ कोही पनि निराश हुनु जरुरी छैन । मैले पनि माला लगाएको छैन, म प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिट जितेको दिन मात्रै माला लगाउँछु । त्यसदिन मात्रै मेरो लक्ष्य पुरा हुनेछ ।’ उनले भने । सभापति बानियाँले निर्वाचित सबैलाई प्रमाणपत्रसमेत वितरण गरेका छन् । अधिवेशनबाट दुई वटै क्षेत्रमा एक जना सभापति, दुई सचिव, दुई सह–सचिव तथा २५/२५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

क्षेत्र नम्वर १ को सभापतिमा खनाल

सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्वर १ को सभापतिमा दामोदर खनाल निर्विरोध भएका छन् । सभापतिका लागी उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध चयन भएका हुन् । समितिको क्षेत्रीय सहसचिवमा इन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध भएका छन् ।

यसैगरी क्षेत्र नम्वर १ बाट महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् भने खस आर्य महिलातर्फ राधा कोइराला, जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा तथा दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध निर्वाचित भएका छन् । सचिव पद र महाधिवेशन प्रतिनिधिका लागी प्रत्यक्ष खुल्ला, महिला खुल्ला र जनजाती पुरुष खुल्लामा मतदान भएको थियो ।
महाधिवेशन प्रतिनिधिका लागी भएको निर्वाचनमा भने प्रत्येक्ष खुल्लातर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ सर्वाधिक मत सहित निर्वाचित भएका छन् । ६७६ मत प्राप्त गरेका हुन् ।

यसैगरी प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली (६११), अमृतकुमार लामा (५७७), बिष्णु कुमार लामिछाने (४९३), दिनेश उपाध्याय (४८६), रघुरमण न्यौपाने (४८४), प्रभात कुमार दाहाल (४५५), माइक रामचन्द्र अर्याल (४५५), राम बाबू बानियाँ (४४१) र ताराचन्द्र बजगाई (४०५) विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिका लागी प्रत्यासी रहेका शेर बहादुर लामा (३९६), राजु खतिवडा (३८९), होम नाथ गौतम (३०७) र चोक बहादुर ठाडा मगर (२६९) मत प्राप्त गरेका थिए ।

यसैगरी खुल्ला महिला तर्फ उर्मिला पुलामी (५९७), प्रबित्रा बिक (५८३), अन्जना उपाध्याय (४८७) र मिरा बन्जारा (४७२) विजयी भएका छन् । महिला खुल्लामा प्रत्यासी रहेकी नेपाली कांग्रेसकी नेतृ रिता खनाल भने पराजित भएकी छन् । उनले ३८८ मत प्राप्त गरिन । यस्तै प्रत्यक्ष जनजाती खुला तर्फ भएको मतदानबाट चम्पुरत्न लामा (४९६),  अशोकराज शाक्य (४५६) शुभात थिङ ४७० विजयी विजयी भएका छन् । यसैगरी क्षेत्रिय समतिको सचिवमा दोर्जे लामा स्याङतान ५५४) र कविन संगामी (४९९) विजयी भएका छन् । सचिवका अर्का प्रत्यासी रमेश ढकालले २५५ मत पाएका छन् ।

क्षेत्र नम्वर २ को सभापतिमा मुक्तान निर्वाचित

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को सभापतिमा भने लोकबहादुर मुक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् । त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले ३५३ मत पाए । त्यस्तै सचिव पदमा थल बहादुर थापा सन्तोष र बलराम घिमिरे विजयी भएका छन् । थापाले ५२७ मत र घिमिरेले ४६२ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै सचिव पदमा रमेश कुमार थिङले ३४४ र राजकुमार ब्लोनले ३७७ मत प्राप्त गरी पराजित भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुमा भने प्रत्येक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् । प्रत्येक्ष खुल्लातर्फ इश्वर पाठक (६००), शंकर न्यौपाने (३०८), जयराम लामिछाने (६७०), टेकनाथ शिवकोटी (३५५), बुद्ध लामा (६०३), भरत लामा (४४०), ठाकुरराम तितुङ (४२०), राजकुमार मल्ल (३६३), राज मैनाली (३३२), सन्तबहादुर प्रजा (५१८) मतले विजयी भएका हुन् ।

खस आर्य खुलातर्फ राजेश भेटवाल (६७६), आदिवासी जनजाति महिलातर्फ गोरी माया लामा (५४३), जानकी लामा (४११) र निर्मला हिम्डुङ (३९४) मत सहित विजयी भएका छन् । आदिवासी जनजाति खुल्लातर्फ जमान सिं वाईबा (५७७), चित्रबहादुर थापा (५४४), रामचन्द्र थिङ (५४९), रत्नबहादुर गोले (५०५), दलिततर्फ शान्ताकुमारी विक (५५१), मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतर्फ सूर्यबहादुर रुम्बा (४७१) मतले बिजयी भएका हुन् ।  कांग्रेसले यसअघि मकवानपुरका १०२ वटै वडा, १० वटा स्थानीय तह र प्रतिनिधिसभा १ को प्रदेशसभा (क) र (ख) तथा प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) र (ख) को अधिवेशन सम्पन्न गरिसकेको छ ।