मकवानपुरमा थपिए ४ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ मंसिर ५,आईतवार १६:३५

मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । जसमा हेटौंडा उपमहानगरपालिका–१० का ३ जना र हेटौंडा–५ का एक जना रहेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३८ पुगेको छ । जसमा ३४ जना आफ्नै घरमा र ४ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने शुन्य रहेको छ ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय जनाएको छ । हालसम्म जिल्लाका हेटौंडा उपमहानगरपालिकामा १ सय १७ जना, थाहानगरपालिकामा ९ जना, मकवानपुरगढीमा ५ जना, बागमतीमा ४ जना, कैलाशमा २ जना, मनहरीका १४, भीमफेदीमा ७, बकैयामा ५ जना र राक्सिराङ गाउँपालिकामा २ जना गरी कूल १६५ जना कोरोना संक्रमितको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।