मकवानपुर जिल्ला अदालत : बन्दी प्रत्यक्षकरणबाहेक मुद्धामा बहस नगरिने
मकवानपुर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै आन्दोलनरत् कानुन व्यवसायीले आज (आइतबार) स्थानीय अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै मुद्धामा बहस नगर्ने भएका छन् । आन्दोलनरत् नेपाल बार एसोसिएसनको शान्तिपूर्ण विरोध कार्यक्रममा सर्वोच्च अदालत परिसरभित्र हातहतियारसहित प्रहरी परिचालन गरी कानुन व्यवसायीलाई हातपातसमेत गरेको विरोध गर्दै मकवानपुर जिल्ला अदालत बार एसोसिएसनले पनि थप विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
जिल्ला अदालत बार एसोसिएसन मकवानपुर अध्यक्ष अधिवक्ता ऋषि केबीले मकवानपुरमा पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्धामा बहस नगर्ने जानकारी दिएका छन् । नेपाल बार एसोसिएसनले शुक्रबार संघर्षका नयाँ कार्यक्रम घोषणा गर्दै सर्वोच्च परिसरमा भएको प्रहरी दमनको विरोधमा आइतबार बहसपैरवी वहिष्कार गर्ने निर्णय गरेको थियो । सल्लाहकार समितिको बैठकपछि केन्द्रीय समिति बैठक बसेर बारले संघर्षका नयाँ कार्यक्रमहरु घोषणा गरेको हो ।
विरोध कार्यक्रममा आइतबार मंसिर ५ गते बन्दी प्रत्यक्षीकरणबाहेक सबै मुद्धामा बहस नगर्ने र कालोपट्टीसहित दुई घण्टा धर्ना गर्ने, सोमबार ६ गते कालोपट्टीसहित दुत घण्टा धर्ना गर्ने, मंगलबार ७ गते अन्तिम म्याद रहेकोबाहेक कुनै मुद्धा दर्ता नगर्ने, कालोपट्टीसहित दुई घण्टा धर्ना गर्ने, बुधबार ८ गते चितवन जिल्ला र मकवानपुर जिल्ला साथै उच्च अदालत बार एकाईहरुको मकवानपुरमा संयुक्त विरोध कार्यक्रम गर्ने जनाइएको छ । बारले आगामी दिनमा पनि सर्वोच्च अदालत र देशभरका अदालत अगाडि जारी धर्ना तथा प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
