क्रियाशील सदस्य घिमिरे कांग्रेसमै फर्किए
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर –३ निवासी कांग्रेसका क्रियाशील सदस्य उद्धव घिमिरे पुनः कांग्रेसमै फर्किएका छन् । केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका उनी पुनः कांग्रेसमै फर्किएका हुन् । उनलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले खादा लगाएर स्वागत गरेका हुन् ।
कांग्रेसका जिल्ला सदस्यसमेत रहेका अर्जुन दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि घिमिरेपनि सँगै नेकपा एसमा गएका थिए । तर, आफु बिगत लामो समयदेखि कांग्रेसमा क्रियाशील रहेको र आगामी दिनमा पनि कांग्रेसमै रहने विचारले पुनः पार्टीमा फर्किएको घिमिरेले बताए । उनले भने ‘कांग्रेसमा लामो समयदेखि क्रियाशील छु । बहकिएर अन्यत्र पुगेको थिएँ । तर लोकतन्त्र र समाजवादको पक्षधर कांग्रेस छाडेर अन्त बसिरहन सकिन त्यसैले आएँ ।’
मकवानपुरगढी गाउँपालिका वडा नं ७ मा कांग्रेसले नजिकिँदै गरेको तिहारको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदान÷प्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा २५ जना प्रवेश गरेका छन् । कार्यक्रममा कांग्रेस हेटौंडा नगरका पूर्व सभापति आनन्दराम पराजुली, मकवानपुर क्षेत्र नं २ का सभापति यतिराज सापकोटालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
