मकवानपुरका तीन जना पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक १४, आईतवार १८:०१

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा फरार दुई जना र लागुऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।पक्राउ पर्नेहरुमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने किरण बल, सोही ठाउँ बस्ने विज्ञान लामा र जिल्ला मकवानपुर साबिक आमभन्ज्याङ गा.बि.स. वडा नं. ३ बस्ने दुर्गा प्रसाद दुलाल रहेका छन् ।

प्रहरीले किरण र विज्ञानलाई चोरी मुद्दामा र दुर्गालाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, मकवानपुर जिल्ला अदालतको मिति २०७८ बैशाख १६ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र रु. ५ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी किरणलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज (आइतबार) हेटौंडा–१५ बाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइसकिएको छ ।

यस्तै, मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७८ बैशाख २६ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र रु. ५ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी विज्ञानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौंडा–१५ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराइसकेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

यसैगरी, मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७३ चैत्र ३० गतेको फैसलाले लागुऔषध मुद्दामा ११ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी दुर्गालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गारइएको जनाइएको छ ।