बागमती प्रदेश सरकारको प्रवक्तामा खनाल
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । सो बैठक मुख्यमन्त्री पाण्डेको नेतृत्वमा पहिलो पटक बसेको हो ।
खनाल बिहिबार मात्रै प्रदेशको आन्तरिक मालिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए । उनी मुख्यमन्त्री पाण्डेको सिफारिसमा मन्त्री बनेका हुन । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका थिए । यस्तै, पाण्डेकै सिफरिसमा प्रदेश प्रमुख शर्माले प्रदेशको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशकी संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेललाई सपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्री पाण्डेसहित ४ सदस्यीय मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले प्रदेशको ११९ वटै पालिकाका एसइई उत्तिर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएको वर्गबाट छनौट गरी ११९ जना विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खनालले जानकारी दिए । उनका अनुसार, सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई आगामी १५ दिनभित्र कार्यविधि तयार पारी पेश गर्न निर्देशन समेत दिइसकिएको छ ।
