बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने नवौं अधिवेशनको चौथो बैठकमा विश्वासको मत लिने भएकी हुन् । उनले मुख्यमन्त्री बनेको दुई महिनापछि आज विश्वासको मत लिने भएकी हुन् ।
त्यसको लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त कार्यको लागि सत्तापक्ष र प्रतिपक्षहरुलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । साथै सो कार्यको लागि अधिकृतसहितको आवश्यक कर्मचारीसमेत खटाइएको सचिव खड्काले बताए ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिईन् । सो प्रस्तावमाथि प्रदेशसभाको गत कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।
गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका नेताहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । गठबन्धनका दलहरुले विश्वासको मतको विपक्षमा मतदान जनाएका थिए । प्रदेशसभाका सदस्यहरुको प्रश्नको मुख्यमन्त्री शाक्यले आज जवाफ दिने भएकी छन् ।
दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् ।
यसैगरी, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का २ जना, राप्रपाका २ र जनता समाजवादी पार्टी (जसपा) को १ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने सचिवालयका प्रवक्ता अमात्यले जानकारी दिए । उनका अनुसार, सो बैठक ११ बजे बस्ने भएको हो ।
