विभिन्न मुद्दामा फरार ८ प्रतिवादी मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार ०८:१६

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक अनादर मुद्दामा ३ जना, सवारी ज्यान मुद्दामा २ जना, ठगी मुद्दामा एक जना र लागूऔषध मुद्दामा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीले चेक अनादर मुद्दामा फरार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २३ वर्षीय उमेश बिक, सोही ठाउँ बस्ने २२ वर्षीय श्याम बिक र २२ ववर्षीय बिशाल भन्ने हरि बिकलाई पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७८ साल बैशाख १६ गतेको फैसलाले चेक अनादर मुद्दामा दुई हजार जरिवाना तोकी फरार रहेका उनीहरुलाई बिहिबार हेटौंडा–१२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवन्द्र दासले जानकारी दिए । उनका पक्राउ पक्राउ गरेको तीनै जनालाई जिल्ला अदालतमा उपस्थित गराईएको छ । यसैगरी, मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दामा फरार दुई जनालाई बिहिबार पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०६८ चैत्र २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना ३ दिन कैद र दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी साबिकको जिल्ला मकवानपुर बसामाडी १ नेवारपानी बस्ने ३१ वर्षीय लक्ष्मणबहादुर गोलेलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिलला अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

यस्तै, प्रहरीले सवारी ज्यान मुद्दामा नै फरार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २४ वर्षीय प्रदिप प्रजालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालमा उपस्थित गराइएको जनाएको छ । उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७६ मंसिर १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ४ महिना ३ दिन कैद सजाय भुक्तान गर्न भनिएको थियो । मकवानपुर प्रहरीले बैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७६ बैशाख १७ गतेको फैसलाले बैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोला घर भई काठमाडौंको बस्ने ४९ वर्षीय कुमारप्रसाद पौडेललाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी–३ स्थितबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

यस्तै, प्रहरीले मकवानपुर जिल्ला अदालतको मिति २०७७ चैत्र ९ गतेको फैसलाले लागुऔषध मुद्दामा ७ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–१५ बस्ने ५८ वर्षीय रामबहादुर बललाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरमा आवश्यक कारवाहीको लागि उपस्थित गराइएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । यसैगरी, प्रहरीले मकवानपुर जिल्ला अदालतको मिति २०७७ फागुन २६ गतेको फैसलाले लागुऔषध मुद्दामा १ वर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न बाँकी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ बस्ने ६८ वर्षीय विष्णुलाल रुम्बा रहेका छन् । उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।