अपडेट : बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १७:३६
file-photo

काठमाडौं । अविरल वर्षाको कारण देशभरका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर आज (बिहिबार) दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय नाघेको छ । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार, बाढीपहिरो र डुबानमा परेर आज दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार, बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो । यस्तै, बाढीपहिरो र डुबानमा परेर प्रदेश नम्वर १ का १९ जना, कर्णाली प्रदेशका ४ जना र सुदूरपश्चिम प्रदेशका १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै, बाढीपहिरोमा परेर ४१ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश नं. १ मा १३ जना, प्रदेश नं. २ मा १ जना, लुम्बिनी प्रदेशका ३ जना, कर्णाली प्रदेशका १ जना र सुदूरपश्चिम प्रदेशका २३ जना रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
बाढीको कारण हाल देशभर २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।