आजबाट मौसममा सुधार आउने
काठमाडौँ । आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी पार्ने प्रणाली बाहिरिसकेकोले आजबाट मुलुकका अधिकाँश स्थानमा घाम लाग्ने जनाइएको छ । पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभावमात्रै भएको विभागको निश्कर्ष छ ।
अर्का मौसमविद् समिर श्रेष्ठले आजबाट मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा भने नहुने बताइएको छ ।
नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक बर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो ।
सो प्रणालीका कारण देशभर बाढी र पहिरो आउँदा ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ७७ जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन् । किसानले भित्राउन ठिक्क पारेको धान बालीमा अकल्पनीय क्षती भएको छ । भौतिक पूर्वाधारसमेत तहसनहस भएको छ ।
विभागका अनुसार भारत बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा कायमै छ । सोही प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली छ । साथै प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का बर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा भने बिहानपख पारिलो घाम लागेको छ ।
