मकवानपुरका थिङ पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार ०८:३४

मकवानपुर । मकवानपुर प्रहरीले चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा रकम असुल्ने मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना १ ज ६६२४ नम्वरको सुमो चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर साबिकको पदमपोखरी १ बस्ने २९ वर्षीय सुबास थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, बढी भाडा फिर्ता गरी सो सुमोलाई गन्तब्यतर्फ छाडिएको छ । पक्राउ परेका थिङमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जागिर लगाइदिने भन्दै १४ लाख ५० हजार ठगी
तनहुँ । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका ३ घर भई चाबहिल बस्ने निलम भट्टराई रहेका छन् । उनलाई तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेललाई न्यौपानेबाट १५ लाख ५० हजार ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पटक–पटक गरी दुर्गाबाट १४ लाख ५० हजार असुल गरेको र पछि जागिर पक्का भयो भन्दै काठमाडौं बोलाएर निलम सम्पर्कविहीन भएका थिए । पीडितले दिएको उजुरीको आधारमा महाशाखाको टोलीले निलमलाई सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको जनाइएको छ ।